|
Children's Stories (Nepali)
सेते कुमालको खुत्रुके
गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न
सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको
गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो
। पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा
सिन्का छिराएर पैसा निकाल्ने कोशिस गर्थ्यो । धेरै बेर मेहनत गर्दा
कहिलेकाहीँ एक दुई रूपैयाँको ढ्याक खस्थ्यो र ऊ दंग पर्दै मिठाई पसलतिर
दगुर्थ्यो ।
गानदेवको घर तनहुँ जिल्लाको खैरेनी टारमा हो ।
उसको बाबु सेते कुमालले मर्स्याङदी खोलामा माछा मार्थ्यो । गानदेव
पनि कहिलेकाहिँ बाबुसँगै खोलामा जान्थ्यो र बगरमा बसेर माछा बटुलेर
फर्लुङमा राख्न बाबुलाई सघाउँथ्यो । फर्लुङभरि माछा भएपछि बाबु छोरा
खैरेनी बजारमा जान्थे र भट्टीमा माछा बेच्थे । माछा बेचेको पैसाले
बजारबाट दाल चामल, नुन तेल किनेर घर र्फकन्थे । सेते कुमालले आफूले
कमाएको पैसामध्ये केही रकम खुत्रुकेमा खसाल्न कहिल्यै बिर्सन्नथ्यो
। खुत्रुक्केमा संगालेको पैसाले गानदेवलाई पढाएर ठूलो मान्छे बनाउने
उसको सपना थियो ।
सेते कुमाल हलो जोत्न निक्कै बलियो र सिपालु पनि
थियो । जस्तोसुकै बदमास गोरु पनि सेतेले जोत्न थालेपछि बिज्याइँ नगरी
खुरुखुरु जोत्थ्यो । अरुले तीन दिनमा सक्ने मेलो उसले दुई दिनमै सिध्याउँथ्यो
। यसैले गाउँमा जसको खेत बारी जोत्न परे पनि सेतेलाई नै बोलाउँथे ।
सेतेको जाँड रक्सी, चुरोट आदि केही अम्मल थिएन । दही र मोही भनेपछि
उसले हुरुक्क गथ्र्यो । दही भयो भने एक माना चामलको भात खान उसलाई
अरु सितन चाहिँदैनथ्यो ।
गानदेव स्कुल जान थालेपछि सेतेले खुत्रुकेमा सकेसम्म
धेरै रुपैयाँ खसाल्न थालेको थियो । कहिलेकाहिँ दशबीस रुपैयाँको नोट
पनि खुत्रुकेमा राख्थ्यो । एक पल्ट खोलामा दश किलोको सहर माछा समातेको
दिन उसले खुत्रुकेमा सय रुपैयाँको नोट राम्ररी पट्याएर राखेको थियो
। उसको बैँक भने पनि भंडार भने पनि त्यही खुत्रुके थियो । खुत्रुकेको
भरिलो आवाज सुन्दा ऊ दंग पथ्र्यो ।
यता खुत्रुकेको अर्कै बिलौना थियो । खुत्रुकेलाई
कसैले पनि सजिलोसँग नेभेटाओस् भनेर सेतेले त्यसलाई कोठाको भित्तमा
माथि टाँडमा राख्ने गथ्र्यो । कोठाको खोपा र भुइँमा गानदेवका खेलौना
र किताब कापी कलम छरिएका हुन्थे । सेतेले बजारजाँदा भेटाएका र गानदेवले
बटुलेका काठको ढिकी, जाँतो, प्लास्टिकका कुकुर, खरायो, मोटर, चरा,
दम दिँदा उफ्रने भ्यागुता आदि पुराना खेलौनाहरू थिए । एकान्त पाउने
बित्तिकै ती खेलौनाहरूले खुत्रुकेलाई जिस्क्याउँथे ।
राती घरका सबै जना सुतिसकेपछि खेलौनाहरू गफ गर्न
थाल्थे । खोपामा बस्ने प्लास्टिककी सानी नानीको स्वर निक्कै मिठो थियो
। उनले गीत सुनाउँथिन् । खेलौनाहरू सबैजसो पुराना र खुइलिएका थिए ।
तर तिनीहरूलाई पुरानो भएकोमा दुःख थिएन । तिनीहरू आफूलाई धेरै अनुभवी
ठान्थे र यो कुरामा गर्व गर्थे । प्लास्टिकको कुकुरले आफूलाई देखेर
साँच्चैको बिरालो डराएर भागेको घटना सुनाउँदा अरु खेलौनाहरू पेट मिचीमिची
हाँस्थे । ती सबै खेलौनाका आआफ्ना कथा थिए र उनीहरू आफ्नो अनुभव सुनाउन
सँधै सम्सन्थे । उनीहरू आफूलाई अरुभन्दा बाठो र काम लाग्ने, उपयोगी
छु भनेर साबित गर्न खोज्थे ।
तर खुत्रुकेलाई उनीहरूले आफ्नो गफमा कहिल्यै सामेल
गर्दैनथे । उनीहरू भन्ने गर्थे, "यो अल्छी खुत्रुकेको केही काम
छैन । दिनभरि बसिरहन्छ । रुपैयाँ पैसा खाँदाखाँदा टुन्न मोटाएको छ
। कुन दिन यसको भुँडी फुटछ । तर यो कसैको काममा आउँदैन । खानमात्रै
जानेको छ यसले ।"
खेलौनाहरूको कुरा सुन्दा खुत्रुकेलाई निक्कै पीर
पर्थ्यो । उसलाई पनि केही उपयोगी काम गरेर देखाउँजस्तो लाग्थ्यो ।
तर के गर्ने थाहा थिएन । बेलाबेलामा सेते कुमालले उसलाई हातमा लिएर
गानदेवको भविष्य बनाउने कुरा गरेको सुन्थ्यो । त्यो सुन्दा उसलाई आफू
कसैको लागि उपयोगी रहेछु भन्ने लाग्थ्यो । तर कहिले र कसरी उसको इज्जत
बढछ भन्ने उसलाई थाहा थिएन ।
एक दिन गानदेव स्कुल गएको फेरि कहिल्यै फर्केन
। सेतेको घरमा रुवाबासी चल्यो । खुत्रुके पनि निक्कै रोयो । अब उसलाई
माया गर्ने मानिस पनि बाकी रहेन र उसको उपयोगिता पनि रहेन भनेर ऊ निक्कै
दुःखी भयो । दर्घटनामा परेर गानदेवको निधन भएपछि सेते कुमाल धेरै दिनसम्म
काममा गएन । खुत्रुके पनि धेरै दिनसम्म भोकै रह्यो ।
गानदेव नै नभए पछि खुत्रुकेको के काम ? सेतेले
खुत्रुकेबाट पैसा निकालेर जग्गा किन्ने, गानदेवकी आमाको लागि लुगा
गहना किन्ने अनि चार्डपर्वमा खर्च गर्ने विचार गर्यो । तर गानदेवकी
आमाले खुत्रुकेबाट पैसा निकालेर खर्च गर्न मानिनन् । खुत्रुकेलाई देख्दा
उनलाई आफ्नो छोराको सम्झना हुन्थ्यो । गानदेव नभए पनि उसको सम्झनामा
अरूको भलो हुने काममा पैसा खर्च गर्नुपर्छ भन्ने उनको विचार थियो ।
आफूसँग दुईचार रूपैयाँ उब्रँदा उनले खुत्रुकेमै राख्ने गर्न थालेकी
थिइन् ।
गानदेवकी आमाको बिचार सुन्दा खुत्रुके पनि मख्ख
परेको थियो । अब उसले अरु खेलौनाको अगाडि आफूलाई उपयोगी सावित गर्ने
बेला आएको थियो । यसो गर्न सकेको खण्डमा उसले पनि फूर्तीसँग उनीहरूको
अगाडि छाती फुलाएर बातमार्न सक्ने थियो ।
त्यो अवसर चाँडै नै आयो । दुले गौँडाका गाउँलेहरूले
यज्ञ गरेर धेरै पैसा संगालेर गाउँमै ठूलो अस्पताल बनाइ छाडे । अस्पताल
सुरु हुने दिन गाउँमा चाडजस्तै भयो । गाउँलेहरूले फेरि मन फुकाएर अस्पताललाई
चन्दा दिए । यही मेसोमा सेते कुमालले पनि आफ्नो जीवनभरिको कमाइ गानदेवको
नाममा दान गर्ने निधो गर्यो ।
अस्पतालमा ठूलो समारोहमा चन्दादाताहरूले पालैपालो
मंचमा गएर पैसा बुझाए । धेरै बेर पर्खेपछि सेते कुमालको पालो आयो ।
मंचमा गएर सभापतिको अगाडि टेबुलमाथि उसले खुत्रुके राखिदियो । खुत्रुके
खोलेर पैसा गन्दा पचास हजार एकसय एक रुपैयाँ निस्क्यो । जीवनको आखिरी
समयमा आफ्नो पसिना अस्पतालमा खन्याउन पाएकोमा ७५ वर्षपुगेको सेते कुमालको
अनुहार खुशीले धपक्क बलेको देखियो ।
भोलिपल्ट छिमेकीले सेते कुमालको दानको खबर अखबारमा
छापिएको कुरा घरमा आएर सुनायो । अखबारमा हलो जोतेको कमाइ अस्पताललाई
भनेर सेतेले गरेको दानको तारिफ छापिएको रहेछ । छिमेकीले अखबार पढेर
सुनाउँदा कोठामा भएका खेलौनाहरूले पनि यो कुरा सुने । उनीहरूको मनमा
खुत्रुकेप्रति निक्कै सम्मान जाग्यो । खुत्रुकेलाई पनि अखबारको खबर
सुनेर निक्कै खुशी लाग्यो । तर अखबारमा कहीँ पनि उसले यत्तिका बर्षम्म
कसरी त्यति धेरै रकम संभालेर राख्यो भन्ने कुरा चर्चा नभएको देखेर
उसलाई चसक्क दुख्यो ।
राती सबै जना सुतिसकेपछि खेलौनाहरूले खुत्रुकेलाई
पनि आफ्नो गफमा सामेल गरे । उनीहरूले खुत्रुकेको धैर्य र सहने शक्तिको
निक्कै तारिफ गरे । रित्तिएको खुत्रुके खुशीले हाँस्दा उसको अनुहार
अँध्यारोमा पनि चम्कियो ।
भोलिपल्ट विहान गानदेवकी आमाले खुत्रुकेमा
दुई रूपैयाँको ढ्याक खसालिन् र खुत्रुकेलाई टिका र माला लगाइ दिइन्
।
Back |