|
Children's Stories (Nepali)
कान्छाको मोटर
मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो
। घाँटीमा दाम्लो बाँधेर बोका डोर्याएझैँ एउटा केटोले मोटर डोर्याइरहेको
थियो । रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिऊ बनाएर
त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो । अगाडितिर काठ कोपेर
ड्राइभर बस्ने कोठा पनि बनाइएको थियो । पुराना हवाइचप्पललाई गोलो आकारमा
काटेर चार वटा पाँग्रा बनाई किलाले पाँग्रा अड्याएर मोटर गुड्ने बनाइएको
थियो ।
बाटो ओह्रालो भएको भए त्यो मोटर आफै गुडने थियो
होला । उकालो भएकोले कान्छाले डोरीले बाँधेर तानिरहेको थियो । सरु
उसकी आमासँग गाउँतिर जाँदै थिए । रेल, मोटर, साइकलजस्ता खेलौना भनेपछि
हुरुक्कै गर्ने सरुलाई त्यो मोटरले तान्यो । उसले आफ्नी आमासँग त्यो
मोटर मागिदिन जिद्दी गर्न थाल्यो ।
सरुको जिद्दी देखेर उसकी आमाले मोटर डोर्याइरहेको
कान्छासँग सोधिन्, "बाबु त्यो मोटर कहाँ किनेको -
शहरका सुकिला मानिससँग बोल्न, कुरा गर्न कान्छले
संकोच मान्यो । उसकी आमाले भनिन्, "कहाँबाट किन्नु - यो त ऊ आफैले
बनाएको हो ।
त्यति सानो बालकले आफैले मोटर बनाएको सुनेर सरुकी
आमा पनि छक्कै परिन् र थप कुरा जान्न खोजिन् ।
कान्छाले बजारमा जाँदा बस देखेको थियो । त्यस्तै
बस बनाउन पाए हुन्थ्यो भन्ने उसको चाहना थियो । यसैले ऊ बस देख्यो
कि बडो गहिरिएर हर्ेर्ने गथ्र्यो ।
एक दिन उसले दाउराको भारीबाट डोलो कमलो काठ रोज्यो
र हँसियाले तास्दै, खर्ुकँदै उसले बसजस्तो लामा आकार बनायो । बस गुडाउने
पांग्रा बनाउन उसले सिसीको बिर्को खोज्यो र पुरानो किलाले बिर्कोको
माझमा प्वाल पारेर पांग्रा बनायो । तर टिनको बिर्कोको पांग्राले राम्ररी
काम गरेन । अनि उसले फाटेको पुरानो हवाइचप्पल पाँग्राको आकारमा गोलो
काटेर माझमा किलाले प्वाल पारेर काठको बसको चारतिर किलाले अडकायो ।
चार वटा पांग्रा भएपछि त्यो काठको टुक्रा गुड्न
पनि थाल्यो र त्यो साँच्चिकै बसजस्तो देखियो । त्यसमा उसले कलम मसीले
झ्याल र ढोका लेख्यो । ड्राइभर बस्ने कोठा बनाउन उसले अलि मेहनत गर्नु
पर्यो । चक्कुको टुप्पाले तास्दै, खर्ुकँदै उसले सानो कोठाजस्तो ठाउँ
बनायो । अनि त त्यो काठको बस लोभलाग्दो खेलौना बनिहाल्यो ।
कान्छाको मेहनत र जाँगर देखेर सरुकी आमा दंग परिन्
। उनलाई कान्छालाई इनाम दिन मनलाग्यो । सरुले पनि मोटर किन्ने जिद्दी
गरेको हुनाले उनले त्यो मोटर बेच्छौ कि भनी सोधिन् ।
"यस्तो पनि बिक्छ र - कान्छाकी आमाले अचम्म
मान्दै जवाफ दिइन् ।
"मेरो छोरालाई पनि यस्तै मोटर चाहियो भनेर
जिद्दी गरेको छ । कान्छाले आफैले यस्तो राम्रो मोटर बनाउन जानेको रहेछ
। उसले फेरि अर्को बनाउन सकिहाल्छ होइनर - सरुकी आमाले कान्छाको तारिफ
गर्दै भनिन् । उनले दश रुपैयाँको नोट कान्छाको हातमा दिन खोज्दै मोटर
मागिन् ।
कान्छाको जीवनमा दश रुपैयाँ कहिले पनि हातमा परेको
थिएन । ऊ अत्तालियो र रुपैयाँ लिनुको साटो आप\mनो प्यारो मोटरलाई दुइहातले
चाँपेर छातीमा टँास्यो र आमासँग टाँसिएर उसले आफू र आप\mनो प्यारो
मोटरलाई लुकाउन खोज्यो ।
उसकी आमाले उसको हातबाट मोटर खोस्न खोज्दै भनिन्,
"दे न दे । दश रुपैयाँ दिनु भएको छ । तैँले अर्को बनाउन सकिहाल्छस्
नि । नभए तँलाई बजारबाट प्लास्टिकको राम्रो मोटर किनेर ल्याइदिउँला
।
"नाइँ आमा नाइँ यो मोटर दिन्न । कान्छाले
यतिमात्रै भन्नसक्यो । ऊ आमाको फरियाले मुख छोप्दै रुन थाल्यो ।
पैसा थपि दिए मान्छ कि भनेर सरुकी आमाले बीस रुपैयाँको
नोट कान्छालाई दिँदै भनिन् । "लौ बाबु यति पैसाले त बजारमा प्लास्टिककै
खेलौना मोटर पाइन्छ । तिमी आफैले पनि मोटर बनाउन जानेकै छौ । यस्तै
अर्को बनाए भइहाल्यो नि ।
उनले कान्छाको हातैमा नोट राखिदिन खोजिन् । तर
कान्छाले त्यो नोट लिएर बाटोमुन्तिर फालिदियो । उसलाई आमामाथि पनि
भर भएन । भुंग्रोबाट हात झिकेझैँ ऊ अचानक आमासँग छुट्टयिो र मोटर लिएर
बेतोडसँग घरतिर कुद्यो ।
-गोरखापत्र संस्थानद्वारा प्रकाशित मुना
मासिक बाल पत्रिका वर्ष१४ अंक ५ पूर्ण्ाांक १६१, मिति २०६१ वैशाखको
अंकमा छापिएको)
Back |